२१ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म कर्फ्यू हटाइएको छ । कर्फ्यूको कारण कष्टकर भएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सोमबार दुई घण्टा कर्फ्यू हटाइएको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अनलाइनखबरसँग भने, खासगरी रक्सौल लगायतका सीमा क्षेत्रमा अलपत्र परेका यात्रु र मालवाहक गाडीहरुलाई गन्तव्यमा पुर्याउन र स्थानीयलाई दैनिक उपभोग्य सामान किनमेल गर्न सहज होस् भनेर दुई घण्टा कर्फ्यू खोलेका हौं ।’
खाद्य पसल र बैंकहरुमा घुईंचो
सोमबार विहान कर्फ्यू हटाइपछि बीरगञ्ज बजारमा स्थानीयको चहलपहल बढेको छ । बजारहरु खुलेका छन् । छोटा दुरीका सवारी साधन पनि चलेका छन् । खाद्यान्न किनमेल गर्नेहरुको बजारमा भिडभाड छ ।
मुख्य चोक-चोकका केही बैंकहरु खुलेका छन् । लामो समयदेखिको आन्दोलन र कर्फ्यूका कारण बैकिंङ कारोबारसमेत ठप्प भएपछि स्थानीय आर्थिक संकटमा परेका थिए । बैंकबाट पैसा निकाल्ने र राख्नेहरुको सोमबार विहान घुईँचो लागेको पत्रकार जियालाल साहले जानकारी दिए । बैंकमा सेवाग्राहीको लामो लाइन छ ।
यसअघि हरेक दिन अपरान्ह चार बजेदेखि साँझ सात बजेसम्म कर्फयू हटाउने गरिएको थियो । वीरगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शवयात्राको दिन भने विहान ९ बजेदेखि दिउँसो दुई बजेसम्म कर्फ्यू हटाइएको थियो ।
प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा प्रहरीले गोली चलाउँदा वीरगञ्जमा पाँचजनाको मृत्यु भएको थियो ।
लंगडीमा आमसभा
यसैबीच आन्दोलनकारीहरुले पर्साको लंगडी गाविसमा सोमबार आमसभा आयोजना गरेका छन् । सभालाई जिल्लास्तरीय नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा आन्दोलन भए पनि आजभोली सबै दलका मधेसवादी नेताहरु सक्रिय भएका छन् । वीरगञ्जबाट पत्रकार साहले भने, ‘जनताहरुले कुनै दल विशेषको झण्डा र ब्यानर मुनि भएको कार्यक्रममा सहभागी हुँदैनौं भनेपछि सबै मिलेर आमसभा गर्दैछन् ।’