+

कारवाही नै नगरी म्यागी र मायोजको प्रतिबन्ध फुकुवा

१९ भदौ, काठमाडौं । तपाईले म्यागी र मायोज चाउचाउलाई कारवाही (पुरनो न्युज लिंक) हुने भन्ने समाचार यसअघि नै पढ्नुभएको हो ।

उपभोक्तालाई झुक्याएको भन्दै सरकारले नै दुबै चाउचाउलाई कारवाही गर्ने जानकारी दिएको हो । तर, दुबै ब्राण्डका चाउचाउलाई सरकारले कारवाही नगरी प्रतिबन्ध फुकुवा गरेको खुलेको छ ।

भारतीय म्यागी र नेपालमै उत्पादित मायोजलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारवाही नै नगरी प्रतिबन्ध खुला गरेको हो । गत जेठमा विभागले पत्रकार सम्मेलन नै गरेर दुबै ब्राण्डका चाउचाउको लेभलमा ‘नो एडेड एमएसजी’ अर्थात ‘मोनोसोडियम ग्लुटामेटा नभएको’ भन्दै गलत सन्देश राखेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको बताएको थियो ।

त्यसबेला उनीहरु विरुद्ध खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने पनि भनियो । विभागका अनुसार कानुनमै टेकेर कारवाही गर्ने हो भने पनि दुबै चाउचाउले १/१ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्थ्यो । कानुन कमजोर भएकाले ठूलो कारवाही भने गर्न नसक्ने बताईएको थियो ।

तर, विभागले म्यागीमाथि गर्ने कारवाहीको फाईल अझै तयार गरेको छैन् । मायोजलाई कारवाही गर्न तयार भएको फाईल भने सरकारी वकिलको कार्यालयमा पुगेको खाद्यप्रविधि तथा गुणस्तर विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । उनले भने ‘म्यागीको मुद्धा हेरेका खाद्यनिरीक्षक बाहिर भएकाले फाईल अघि तयार हुन समय लागेको हो । मायोजको भने सरकारी वकिलको कार्यालयसम्म पुगेको छ । प्रक्रिया पुगेपछि कारवाही हुन्छ ।’

विभागले मुद्धा चलाएपनि कारवाही गर्ने निर्णय भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्नुपर्ने हो । कसुर ठूलो भएपनि कानुनमै भएको सामान्य कारवाही पनि नगर्दा उपभोक्ता विरुद्ध मनलाग्दी गर्ने प्रोत्साहन मिलेको उपभोक्तावादी प्रेमलाल मर्हजन बताउँछन् । उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी काम गर्ने जो सुकैलाई नैतिक दबाव पर्ने गरी भएपनि कारवाही गर्नुपर्ने उनको सुझाव छ ।

दुबै चाउचाउलाई ‘नो एडेड एमएसजी’ नलेखिएको बाहिरी खोल राखेर बिक्रीवितरणको अधिकार दिईएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । दुबै ब्राण्डका पूराना खोल भएका चाउचाउ भने सबै फिर्ता भने भईसकेको विभागले जनाएको छ । भारतमा म्यागी चाउचाउमा प्रतिबन्ध लागेपछि गत जेठमा विभागले परीक्षण गरी दुबै चाउचाउलाई प्रतिबनध लगाईएको थियो ।

नमुना परीक्षणमा मोनोसोडियम ग्लुटामेटा पाइएकाले कारवाही गर्ने विभागको दावी थियो । म्यागीसहित नेपालमा उत्पादित विभिन्न ब्राण्डका चाउचाउका १३ नमुना संकलन गरेर परीक्षण गर्दा धेरैमा ग्लुटामेटा पाइएको थियो । चाउचाउमा यसलाई अधिकतम १ प्रतिशतसम्म प्रयोग गर्न पाईने कानुनी व्यवस्था छ ।

React to this post

Hot Topics

Conversation

New Old Popular