२७ साउन, काठमाडौं । चीनमा क्यान्सर रोगबारे अनुसन्धान गरिरहेका नेपाली युवा प्रा.डा. राजीव झा यो बर्षको युवा बैज्ञानिक पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल सरकारले अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर प्रदान गरेको युवा प्रतिभा पुरस्कारमा उनी युवा बैज्ञानिक बिधामा सम्मानित भएका हुन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले उनलाई एक लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेपालका लागि चिनियाँ राजदूत उ छुन्ताइ लगायतको पनि सहभागीता थियो ।
पुरस्कारको रकम धनुषा र गुल्मीका विद्यार्थीलाई
सरकारबाट पाएको एक लाख रुपैयाँ उनले शारीरिकरुपमा अशक्त र सुस्त मनस्थिति भएका विद्यार्थीहरुलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
सम्मान कार्यक्रममा उनले ५० हजार रुपैयाँ धनुषामा र ५० हजार रुपैयाँ गुल्मीका अपाङ्ग बिद्यार्थीलाई खर्च गर्ने घोषणा गरे ।

युवा तथा खेलकुद मन्त्रालयले झासहित ७ व्यक्ति र २ संस्थाहरुलाई आर्थिक बर्ष २०७१/७२ को युवा प्रतिभा सम्मान प्रदान गरेको छ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बुधबार उनीहरुलाई प्रज्ञाभवन कमलादीमा कार्यक्रममा सम्मान गरे ।
सम्मानित भएका संस्थाहरुमा काठमाडौंको बबरमहलस्थित नेपाल युवा संस्था सञ्जाल (आयोन) र नेपाल अपाङ्ग महिला संघ कालोपुल रहेका छन् ।
यसैगरी व्यक्तिहरुमा प्रोफेसर डा. झासहित राजन खतिवडा डुमरवाना-४ बारा, सुस्मिता मास्के काठमाडौं महानगरपालिका-२३, भवेश खनाल काठमाडौं महानगरपालिका-११, प्रदीप परियार भिमेश्वर-१ सिन्धुली, डा. विन्दु शर्मा उरहरी-२ दाङ, गोमावती पुन दाङ रहेका छन् ।

