+

सप्तरीमा प्रहरी दमनमा उत्रेको सभासदहरुको आरोप

१ भदौ, काठमाडौं । सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेको भन्दै सभासदहरूले सरकारको आलोचना गरेका छन् ।

Samsad-Sankalpa 650व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा समय लिएर बोल्दै सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाए । उनले प्रश्न गरे– सप्तरीवासीले के अपराध गरेका थिए र गोली हान्न ?

थारु समुदायलाई सभा गर्ने अधिकार पनि कांग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उनले सप्तरी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिए ।

सभासद गंगाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएको भन्दै घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गरे । उनले सहमतिको आधारमा संविधान बनाउन पनि माग गरे ।

सभासद गोपाल दहितले  हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाए ।

अर्का सभासद लालबाबु राउतले सप्तरीमा शान्तिपूर्ण प्रदर्शनका क्रममा सङ्घीय समाजवादी दलका कार्यकर्तालाई गोली हानेर आतङ्क सिर्जना गरेको आरोप लगाउँदै मृतक राजीव राउतलाई सहिद घोषणा गर्न र अन्य घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सभासद तेजुलाल चौधरीले कञ्चनपुरदेखि झापासम्म  सङ्घीयताका विषयमा आन्दोलन बढेको बताउँदै यसै क्रममा अधिकारका लागि आन्दोलनरत चौधरी समुदायलाई सरकारका तर्फबाट दबाउने काम गरेको आरोप लगाए ।

सभामुख सुवास नेम्वाङले धेरै सांसदले सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एकजनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएको घटनाबारे कुरा उठाएकाले यसबारे सरकारतर्फबाट संसद्को अर्को बैठकमा जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिए  । रासस

React to this post

Hot Topics

Conversation

New Old Popular