मोडलिङको आकर्षणमा झुम्मिने युवतीको जमात सानो छैन । नाम र दामका लागि उर्वर बन्दैछ नेपाली मोडलिङ । त्यही कारण हुनसक्छ युवतीहरुको आकर्षण लोभ लाग्दो पाराले यस क्षेत्रमा बढीरहेको छ ।
पूर्वको शहर ईटहरीमा बस्दै आएकी कल्पना दाहाल मोडलिङमा जम्ने तयारीमा छिन् । उनी पेशाले एमआर हुन् । साथीभाईको सल्लाहमा मोडलिङ सुरु गरेकी कल्पना अब यसैलाई पेशा बनाउने सोचमा छिन् ।
‘मोडलिङमा लागेर भविष्य बनाउनेहरु देखेकी छु । अब म पनि रंगीन दुनियामा रमाएर करिअर चम्काउन चाहन्छु ।’ फ्रेस फेस स्तम्भ अन्र्तगत अनलाइनखबरसँग कुरा गर्दै कल्पनाले भनिन् ।
सुरुमा रहरले मोडलिङ गरेको भन्ने कल्पना अब यसैलाई पेशा बनाउने तयारीमा छिन् । लोक, आधुनिक सबै खालका गीतमा मोडलिङ गरिसकेकी छिन् कल्पनाले । मोडलिङमा मात्रै सिमित हुने उनको सोच छैन । भन्छिन्-‘राम्रो भुमिका आयो भने चलचित्रमा पनि अभिनय गर्छु ।’
त्यसो त केही चलचित्रवाट उनलाई प्रस्ताब पनि आएका थिए । तर, जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने उनको मान्यता छ । उनको भनाई अनुसार हरेक चलचित्रले समाजका लागि केही न केही दिएकै हुनुपर्छ ।’
नेपाली चलचित्रप्रति राम्रै झुकाब राख्ने कल्पनाले नेपाली चलचित्रमा गुणस्तरको बहस हुँदै गरेको बुझेकी छिन् । उनलाई लाग्छ ‘अब नेपालमा स्तरीय चलचित्र बन्छ ।’
एक पटक उनी मिस पूर्वाञ्चलमा सहभागी भएकी थिईन् ? उपाधि के पाउनुभयो त ? अनलाईनखबरको प्रश्नमा उनले भनिन्-‘म उपाधिका लागि भन्दा पनि अनुभवका लागि कार्यक्रममा सहभागी भएकी थिएँ ।’